निक्खर मधेसका तप्ततालाई जीवनदायिनी मानेर लहलहाउँदा धानका गाँजमा भविष्य देखेर खेल्दा कुइना र घुँडाहरू तछारिएको परवाह नगरी रमाएर अलमस्त हुर्किएको मान्छे हुँ म।
म सम्झिरहेको छु, आकाश छर्लंग उघ्रिएको बेला मेरो मधेसबाट धेरै टाढा पहाडमा सेतो टोपी लाएको जस्तो टक्रक्क पहाड देखिन्थ्यो।
आमा भन्नुहुन्थ्यो– त्यो हिमाल हो।
हिमाल र मेरो बाल्यकालको चिनारी, बस् त्यत्ति हो। उमेरले पढाइ र जागिर दियो। कतै जागिरले कतै रहरले कतै लहडले नेपालका केही पहाड घुमायो। तिनै पहाडमा यदाकदा हिउँ पनि देखायो। संयोग परेका बेला जुत्ताका तलुवामा हिँउ पनि पर्यो।
क्षणिकै भए पनि हिमाल त यसै आएर आँखामा ठोक्किइहाल्थ्यो।
धौ फुकाएर पैतालालाई हिउँमा टेकाउन र आँखाको रउस मरुन्जेल हिमालकै छातीमा टाँसिएर चिस्सिन त कहाँ पाइएको छ र! घुँडामा पानी सुक्दै गएको वर्तमानले आँत मार्दै गरेको आँट बोकेर अब त्यो रहर पूरा हुने सम्भावना मैले बोक्नु पनि बेकार छ।
यही मनोदशाबीच नियात्राकार राजेन्द्रमान डंगोलकृत 'पैतालामा हिउँ आँखामा हिमाल' हात पर्यो। गत साल नेपाल पुगेका बखत नियात्राकार उनीसँग भौतिक चिनाजानी भयो। आत्मीयता बढ्यो। कोसेली पाएँ नियात्राकृति।
'कुखुरा खान्छस् गोहोरा, बोक्रैसँग' भन्ने आहानजस्तै भएको छु यति बेला। र, म सोही नियात्राकृतिका हिउँमा टेक्दै छु, आँखामा हिमाल ल्याएर उभ्याएको अनुभूति गर्दै छु।
साभार-खेमराज पोख्रेल(सेतोटी)